धनगढी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीले सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा सुरक्षा योजना तयार गरेको छ । सबै निर्वाचन क्षेत्रमा २१ गतेदेखि सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा आधार शिविर तयार गरेको छ ।
सबै क्षेत्रमा फागुन ६ गतेबाट छुट्टै मोवाइल टोली, सबै क्याम्पमा डीएसपीको कमान्ड बाहिनीस्तरीय रिजर्व टोली, निर्वाचन विरोधि गतिविधी रोक्न अनुगमन टोली समेत खटाउने सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए । पाँच हजार १०० निर्वाचन प्रहरीसहित निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी परिचालन हुनेसमेत सुवेदीले बताए ।
सुदूरपश्चिममा सवारी साधनको अपुग भएपछि प्रधानकार्यालयको निर्देशनमा भाडामा लिएर भए पनि सबै क्षेत्रमा मोवाइल गस्ती बढाइने उनले बताए ।
प्रत्येक क्षेत्रमा नेपाली सेनाको सहयोगमा मतदान अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा अन्य निर्वाचन सम्बन्धी कार्यालयहरूमा सुरक्षा टोली खटाइएको छ । प्रत्येक मतदान क्षेत्रमा सशस्त्र प्रहरीको डीएसपीको कमान्डमा नेपाली सेनाको मुख्य फोर्स व्यवस्था गरिएको छ । निर्वाचनलाई लक्षित गर्दै स्ट्राइक टोली र मोबाइल टोलीहरू सञ्चालनमा ल्याइएको छ ।
विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा मोबाइल टोलीको संख्या बढाइएको छ । सशस्त्र प्रहरीका सबै युनिटमा रिजर्भ क्यूआर टोली र क्यूआर टोली खटाइएका छन् । यी टोलीहरूलाई डीएसपी र इन्स्पेक्टरको प्रत्यक्ष कमान्ड दिइएको छ ।
बाहिनीको राज्यस्तरीय अपरेसन बेस हेडक्वार्टरमा मोबाइल तथा रिजर्भ टोलीहरू तयारी अवस्थामा राखिएको छ । अन्य पहाडी तथा दुर्गम जिल्लाहरूमा निरन्तर अनुगमन भइरहेको छ ।