दार्चुला । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले निर्वाचन आयोगको आचारसंहिता विपरीत कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ ।
समन्वय इकाइ कार्यालयले मंगलबार (आज ) एक सूचना जारी गर्दै निर्वाचन आयोगको आचारसंहिता विपरीत कुनै पनि कार्य नगर्न,नगराउन जिल्लाभित्रका सम्पुर्ण विद्यालय तथा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुलाई निर्देशन दिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाका इकाइ प्रमुख प्रताप सिह धामीद्धारा जारी गरिएको सूचना अनुसार कानूनको अज्ञानता,क्षम्य नहुने भन्दै सामाजिक संञ्जाल प्रयोग गर्दा तथा अन्य कुनै प्रक्रियाबाट आचारसंहिता उल्लंघन भएको पाइएमा नियमानुसार कारबाही हुने चेतावनी दिएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते देखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । आचारसंहितामा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण तोकिएको छ ।
आचारसंहिताअनुसार विश्वविद्यालय तथा विद्यालयका शिक्षक,प्राध्यापक र कर्मचारीहरू कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न पाउने छैनन्।
यस्तै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसार गर्न नहुने लगायत आचारसंहितामा उल्लेख गरिएको छ ।
