दार्चुलामा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन भर्चुअल अभिमुखीकरण

दार्चुला । दार्चुलामा निर्वाचन आचारसंहिता तथा शान्ति सुव्यवस्था सम्बन्धी भर्चुअल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढङ्गले सम्पन्न गर्न मंगलबार निर्वाचन आचारसंहिताको पालना तथा शान्ति सुव्यवस्था सम्बन्धमा उक्त भर्चुअल अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भुवन गिरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । भर्चुअल बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्ला निर्वाचन अधिकारी, आचारसंहिता अनुगमन अधिकृतलगायतको उपस्थितिमा स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्षहरू, सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँ/नगर कार्यपालिकाका कार्यालयका प्रशासन शाखा प्रमुखहरूको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । बैठकमा निर्वाचन आचारसंहिता २०८२ को प्रभावकारी पालना तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्ने विषयमा विस्तृत छलफल गरिएको उनले बताए ।

हालसम्म जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी कुनै औपचारिक उजुरी नपरेको भए पनि फाट्टफुट्ट रूपमा त्यस्ता गतिविधि भएको सुन्नमा आएको उल्लेख गर्दै आचारसंहिता कडाइका साथ पालना गर्न सबैलाई निर्देशन दिइएको दिइएको छ । निर्वाचन आचारसंहिता २०८२ अनुसार सामाजिक सञ्जालमा आएका निर्वाचनसम्बन्धी पोस्टहरूमा लाइक, कमेन्ट तथा सेयर नगर्न सबै सरकारी कर्मचारीहरूलाई निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.