दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा- ३ मा अवस्थित राष्ट्रको सातौँ धाम मालिकार्जुन मन्दिरमा लागेको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सका लागि महाकाली नगरपालिकाले नि:शुल्क नगर बस सेवा संञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले शुक्रबार (आज) एक सार्वजजिक सूचना जारी गदैँ दुई दिन नि: शुल्क नगर बस सेवा संञ्चालन गर्ने जनाएको हो । महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्न्ना द्धारा जारी गरिएको सूचना अनुसार श्रद्धालु भक्तजनहरुको सहज सहभागिता सुनिश्रित गर्ने उद्देश्यले नि: शुल्क नगरबस सेवा संञ्चालन गर्ने तयारी भएको बताइएको छ ।
नगरपालिकाकोे तर्फबाट शनिबार र सोमबार अर्थात (माघ २४ र २६ गते ) श्रद्धालु भक्तजनहरुलाई नगर बस सेवा संञ्चालन गर्ने जनाएको छ । शैल्य मालिकार्जुन राष्ट्रिय धाममा माघ २२ गते देखि आगामी फागुन ३ गतेसम्म शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव संञ्चालन भइरहेको छ । देशकैं सातौ राष्ट्रिय धाम मालिकार्जुनमा लागेको महायज्ञ तथा धार्मिक महोत्वसमा नेपालसँगै भारतका भक्तजनहरुको समेत सहभागिता रहेको छ ।
प्राचीन ग्रन्थ शिवपुराण र स्कन्दपुराणमा वर्णन भएको यो धामलाई भगवान शिवको पवित्र अवतार मालिकार्जुनको तपोभूमि मानिने गरिएको छ । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित यो धाममा वर्षेनी हजारौँ भक्तजन पूजा–आराधनाका लागि पुग्ने गर्दछन् । अषाढ शुक्ल चतुर्दशी, कार्तिक शुक्ल त्रयोदशीलगायत विशेष पर्वमा यहाँ भव्य पूजा, मन्त्रोच्चार र धार्मिक अनुष्ठान आयोजना हुँदै आएको छ ।
