दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दार्चुलामा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ ।
यसैक्रममा नेकपा एमालेका केन्दीय सदस्य तथा पूर्व मन्त्री गणेश सिह ठगुन्नाले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ ।
दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नु भएका नेता ठगुन्नाले पछिल्ला केही हप्तादेखि निर्वाचन क्षेत्रका गाउँ–गाउँ, टोल–टोल तथा बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहनु भएको छ ।
घरदैलो अभियानका क्रममा उनले स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष रूपमा जानकारी लिइरहनु भएको उनको सचिवालयले जनाएको छ । चुनावी अभियानअन्तर्गत नेता ठगुन्नाले कार्यकर्ता भेटघाट, जनतासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा विभिन्न अन्तरक्रियालाई निरन्तरता दिइरहनु भएको छ ।
विगतमा आफूले सरकारमा रहँदा गरेका विकास निर्माणका काम र आगामी कार्यकालका स्पष्ट योजनाहरू सार्वजनिक गर्दै उनले मतदाताको विश्वास जित्ने प्रयासमा जुटिरहनु भएको छ ।
आगामी कार्यकालका लागि आफ्ना प्रतिबद्धता जारी गर्दै नेता ठगुन्नले गोकुलेश्वर विमानस्थल स्तरोन्नति देखि लिएर सुुस्त गतिमा निर्माण भइरहेको दार्चुला तिंकर सडक सम्पन्न गर्ने लक्ष्यका साथ अहिले जनातको गाउँ–गाउँ, टोल–टोल तथा बस्ती–बस्तीमा पुगिरहनु भएको छ ।
विकासका काम, लामो राजनीतिक अनुभव र स्पष्ट प्रतिबद्धतालाई आधार बनाएर नेता ठगुन्नाले आफ्नो चुनावी अभियानलाई थप प्रभावकारी बनाइरहनु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलामा ११ जनाको उम्मेदवारी परेको छ ।
प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना प्रभावशाली उम्मेदवार मैदानमा उतारेका छन् । चुनावी अभियानका क्रममा नेता ठगुन्नाले मन्त्री हुँदा दार्चुला जिल्लाका लागि गरेका विकास कार्यहरूलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आउनु भएको छ ।