एकै दिन दार्चुलाका दुई छुट्टाछुट्टै ठाउँमा महिला पुरुषको हत्या

दार्चुला । दार्चुलामा एकैदिन दुई जनाको छुट्टाछुट्टै ठाउँमा हत्या भएको छ । महाकाली नगरपालिका– ४ खलंगा बङ्गाबगडमा नेपाल प्रहरीका हवल्दार योगेन्द्र घर्ती र शैल्यशिखर नगरपालिका–८ मा ७१ वर्षीया महिला लक्ष्मी जोशीको हत्या भएको हो ।

सामुदायिक प्रहरी केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हबलदार घर्तीको एक होटलमा हत्या भएको महाकाली नगरपालिका–४ का वडा अध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिए । प्रहरीले शवलाई जिल्ला अस्पताल दार्चुला पठाएको छ ।

स्थानीयले घट्नाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्न माग गरेका छन् । स्थानीय विजय ऐरीले भने, होटलमा हत्या गरेर फालिएको छ । टाउको भरि चक्कु प्रहार गरिएको घाउ छ । स्थानीयले होटल सञ्चालक पक्राउ गरि अनुसन्धान गर्न माग गरेका छन् ।

यस्तै शैल्यशिखर नगरपालिका–८ देवलका ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरि सुनचाँदी लुटपाट भएको छ । घरमै एक्लै रहेका उनको हत्या गरि घरबाहिर शव फालिएको अवस्थामा फेला परेको स्थानीय मनोरथ जोशीले जानकारी दिए ।

उनको टाउकोमा चोट छ । हत्यापछि उनले लगाएकी साढे तीन तोला सुन लुटपाट भएको उनले बताए । घरभित्र बाकस फुटेको अवस्थामा फेला परेको छ ।घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरजसिंह भाटको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.