दार्चुला । विगत १२ वर्षदेखि निर्माण अलपत्र अवस्थामा रहेको महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलङ्गा–गोकुलेश्वर सडकखण्डको धौलीगाडखोलामा मोटरेबल पुलको निर्माण सुरू भएको छ । सङ्घीय सरकारले पुलको बाँकी काम सम्पन्न गर्न बजेट विनियोजन गरेपछि पुल निर्माणको काम सुरू भएको हो ।
पुल निर्माणका लागि सरकारले चालु आव २०८२/८३ मा २ करोड रुपियाँ विनियोजन गरेको नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन, कार्यालय बैतडीका इन्जिनियर एवं सूचना अधिकारी कपिलप्रसाद पन्तले जानकारी दिनुभयो । पुलको बायाँतर्फको पिल्लरको निर्माण करिब ७० प्रतिशत भएकोमा बाँकी संरचनाको निर्माण गर्नुपर्ने उनले बताए ।
आव २०७०/७१ मा धनगढीको आशिष कन्स्ट्रक्सन निर्माण कम्पनीसँग पुल निर्माण गर्न सम्झौता भएर काम सुरू गरेको कम्पनीलाई जग्गाधनीले रोकेपछि पुल निर्माणको काम रोकिएर अलपत्र परेको थियो । पुलको बाँकी संरचना निर्माण गर्न पुरानै निर्माण व्यवसायी (आशिष कन्स्ट्रक्सनसँग) २०८३ असार १५ गते कार्य सम्पन्न गर्न नयाँ सम्झौता गरिएको छ ।
महाकाली कोरिडोर अन्तर्गतको धौलीगाड खोलामा मोटर पुल निर्माण हुन नसक्दा बर्सातमा वारपार गर्न छोटो तथा लामो दुरीका सवारीसाधनलाई समस्या हुने थियो । यो खोलामा २५ मिटर लम्बाइको स्पान पुल निर्माण गरिने इन्जिनियर पन्तले बताए । तोकिएको समयावधिभित्रै पुल निर्माण गर्ने गरी बाँकी संरचनाको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर चन्दले जानकारी दिए ।