दार्चुलाका सात उम्मेदवारले खोले निर्वाचन प्रयोजनार्थ छुट्टै बैंक खाता

दार्चुला । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका दार्चुलाका ११ जनामध्ये विहिबार सम्म ७ जनाले मात्रै बैंक खाता खोल्नका लागि सिफारिश लगेका छन् ।

निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को (ख)मा उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर सोही खाताबाट आम्दानी तथा खर्च गर्न पाउने व्यवस्था रहेको छ ।
उक्त व्यवस्था अनुसार उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर चुनावका बेला खर्च गर्न पाउने छन् ।

विहिबार सम्म नेकपा (एमाले)का गणेश सिंह ठगुन्ना, नेपाली कांग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिष्ट पार्टीका लक्षमण दत्त जोशी, नेकपा माओवादीका नवराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सिंह सामन्त, राष्ट्रिय जनमोर्चाका बिर्ख राज पन्त र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार गगन ठगुन्नाले मात्रै बैंक खाता खोल्न निर्वाचन कार्यालयबाट सिफारिश लगेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिप सिह धामीले बताए ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावको समयमा गर्ने आम्दानी र खर्च सोही बैंक खाताबाट गर्नुपर्ने हुन्छ । निर्वाचन सम्पन्न भएपछि आयोगलाई बुझाउने खर्च विवरण समेत सोही बैंक खाताका आधारमा बुझाउनुपर्ने उनले बताए ।

उम्मेदवारले चुनावी प्रयोजनका लागि बैंक खाता खोल्नु अनिवार्य रहेको र यो बिषय सबै उम्मेदवारलाई जानकारी गराएको आयोगले जनाएको छ । छुट्टै खाताले खर्च पारदर्शी हुने, आयोगले तोकेको खर्चको सीमा उल्लंघन नहुने बताइएको छ ।

छुट्टै खाता नखोल्ने र खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधिने, एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही गर्नसक्ने अधिकार निर्वाचन अधिकृतलाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.