काठमाडौं । अमेरिका र इजरायलले शनिबार बिहान अचानक इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व (खाडी राष्ट्र) मा युद्ध विस्तार हुने खतरा बढेको छ । यदि यो युद्ध मध्यपूर्वमा विस्तार भए त्यहाँ कार्यरत करिब १७ लाख नेपाली कामदार प्रत्यक्ष प्रभावित हुनेछन् ।
अमेरिका र इजरायलले आक्रमण गरेलगत्तै इरानले पनि प्रत्याक्रमण सुरु गरेको छ । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार इरानले इजरायलमाथि मात्र होइन खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया कतार, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य बेसमा एकसाथ मिसाइल आक्रमण गरेको छ ।
यूएईको अबुधाबी र दुबई, कतारको दोहा, साउदीको रियादलगायतका स्थानमा ठूलो विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
इरानको प्रत्याक्रमणसँगै यो युद्ध मध्यपूर्वमा फैलिने खतार बढेपछि परराष्ट्र मन्त्रालयले शनिबार नै एक ट्राभल एड्भाइजरी जारी गरेको छ । ट्राभल एड्भाइजरीमा परराष्ट्रले इजरायल र इरानमा रहेका नेपालीलाई घरभित्रै बस्न अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित परिस्थितिलाई नजिकबाट नियालीरहेको जनाएको छ । “मध्यपूर्वी देशहरूमा बसोबास गर्ने र काम गर्ने नेपाली नागरिकहरूलाई सम्बन्धित देशका सम्बन्धित अधिकारीहरूले सुझाव दिएअनुसार, निरन्तर घटनाक्रमको अनुगमन गर्न र सावधानी अपनाउन सल्लाह दिइन्छ,” परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरीमा भनेको छ ।
अमेरिका, इजरायल र इरानबीचको युद्ध मध्यपूर्वभर विस्तार भए यसबाट ठूलो संख्यामा नेपाली कामदारहरु प्रत्यक्ष प्रभावित हुने देखिन्छ । परराष्ट्र मन्त्रालयकाअनुसार, मध्यपूर्वका राष्ट्रहरूमा मात्र १६ लाख ८७ हजार ८ जना कामदार हाल कार्यरत छन् ।
युनाइटेड अरब इमिरेट्स (यूएई) मा ७ लाख, साउदी अरेबियामा ३ लाख ८४ हजार, कतारमा ३ लाख ५७ हजार, कुवेतमा १ लाख ८५ हजार, ओमानमा २५ हजार, बहराइनमा २८ हजार, इजरायलमा ८ हजार र इरानमा ८ जना नेपाली कार्यरत रहेको परराष्ट्र मन्त्रालयको तथ्यांकले देखाउँछ ।