दार्चुला । प्रतिनिधि सभा निर्वाचन–२०८२ को तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै किमिसका काम पूरा भएसँगै निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी एवं सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिए ।
दार्चुलाका लागि प्रत्यक्षतर्फ एक लाख तथा समानुपातिकतर्फ एक लाख पाँच हजार मतपत्र आएको उनले बताए । निर्वाचनको सबै तयारी लगभग पूरा भएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष अनिल पौडेलले बताए । । उनका अनुसार मतदान केन्द्रको स्थलगत अनुगमन निरीक्षण, सुरक्षा समिति बैठक, मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमलगायतका काम सम्पन्न भइसकेको छ ।
तालिमप्राप्त गरेका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आआफ्नो मतदान केन्द्रको आवश्यक निर्वाचन सामग्री फागुन १७ गतेसम्ममा बुझिलिन जिल्ला निर्वाचन कार्यालय दार्चुलाले सूचना जारी गरेको थियो । टाढाका मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन सामग्री बुझिसकेको तथा नजिक नजिक मतदान केन्द्रमा खटिनु भएका कर्मचारी सामग्री बुझ्न आउने व्रmम जारी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११२ मतदान स्थल, १४३ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । भौगोलिक विकटता, सडकको अवस्था र विगतका घटनालाई आधार मानेर निर्वाचनको सुरक्षा विश्लेषण गरी यहाँका २२ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ४१ वटा मतदान केन्द्रलाई संवेदनशी र बाँकी ८० वटा मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको छ ।
दार्चुलाका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भुवन गिरीका अनुसार जिल्लामा ८५७ जना कर्मचारी निर्वाचनमा खटाइएको छ । दार्चुलाबाट ११ वटा राजनीतिक दलका उम्मेदवारले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । दार्चुलामा पैँतालिस हजार १९३ महिला र सतचालिस हजार ७५५ पुरुष गरी ९२ हजार ९४८ मतदाता रहेका छन् ।
दार्चुलामा मतपत्र र निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा खटिए कर्मचारी