सुदूरपश्चिमले बालेन सरकारमा पायो दुई मन्त्री, को हुन् प्रतिभा र गीता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा सुदूरपश्चिमले दुई जना मन्त्री पाएको छ ।

सुदूरपश्चिमका दुई जना महिला प्रतिभा रावल र गीता चौधरी मन्त्री भएका हुन् । दुवैले आजै शपथग्रहण पनि गरिसकेका छन् । रावल र चौधरी रास्वपाबाट समानुपातिकबाट सांसद बनेका हुन् । प्रदेशका १६ मध्ये १० सिट प्रत्यक्षमा जितेको रास्वपाले समानुपातिकबाट छ सांसद बनाएको थियो ।

रावलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएकी छन् । रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा रहेकी रावलसँग एक दशकभन्दा बढी समय पत्रकारिता गरेको अनुभव छ । उनी रवि लामिछानेसँगै पत्रकारिता छोडेर राजनीतिमा लागेकी थिइन् । उनले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टीभीलगायतमा काम गरेकी थिइन् ।

रावलले रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरेकी थिइन् । भीमदत्त नगरपालिका– ६, ऐठपुरमा जन्मिएकी उनले पाँच वर्षकै उमेरमा बुबा गुमाएकी थिइन् । गुल्मीका प्रेम अर्यालसँग विवाह गरेकी रावल अहिले काठमाडौंमा बस्दै आएकी छन् ।

यस्तै, कञ्चनपुरकी गीता चौधरी कृषि, वन, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री भएकी छन् । शुक्लाफाँटा नगरपालिका– ४ की ३३ वर्षीया चौधरी अधिवक्ता हुन् । २०७९ सालको निर्वाचनमा गीता नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन् । कञ्चनपुर क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष चुनाव लड्दा पराजित भएकी उनी पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडिएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.