दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको खेट्टेबगरमा रहेको सरसफाइ केन्द्र स्थानीयवासीले बन्द गराएका छन्। फोहोर व्यवस्थापनमा नगरपालिकाले चरम लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले शुक्रबार बिहान सरसफाइ केन्द्रमा अवरोध सिर्जना गरेका हुन्।
स्थानीयको अवरोधपछि नगरपालिकाबाट संकलन गरिएको फोहोर बोकेका गाडीहरू सडकमै रोकिएका छन्। वातावरण संरक्षण, जनस्वास्थ्य र सुरक्षित भविष्य सुनिश्चित गर्न यस्तो कदम चालिएको स्थानीयको भनाइ छ। उनीहरूले फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायले दीर्घकालीन र प्रभावकारी समाधान ल्याउनुपर्ने माग गरेका छन्।
यसअघि केही दिनअघि नगरपालिकाले डोजर प्रयोग गरेर फोहोर पवित्र गंगाको नामले चिनिने महाकाली नदीमा फालेपछि जिल्लाभरका सरोकारवालाहरूले तीव्र विरोध जनाएका थिए। विरोध बढेपछि नगरपालिकाले फोहोर हटाउने र नष्ट गर्ने भन्दै रातिको समयमा आगो लगाएको स्थानीयले आरोप लगाएका छन्।
फोहोरमा आगो लगाएपछि आसपासको वातावरण अत्यन्तै प्रदूषित बनेको स्थानीयको गुनासो छ। अहिलेको अवस्थामा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न दबाब बढ्दै गएको छ।
