दार्चुला । महाकाली नगरपालिकाको सभाहलमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले अन्तरनिकाय समन्वयसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न निकायबीच सहकार्य र समन्वय सुदृढ गर्ने विषयमा छलफल गरिएको हो।
कार्यक्रममा नगर प्रमुख, नरसिह चैसिर, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, वडाध्यक्षहरू, वडा सचिवहरू तथा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, मालपोत र नापी कार्यालयलगायतका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। करिब ११० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा सेवा प्रवाहलाई सरल, छरितो र प्रभावकारी बनाउने उपायहरूबारे विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।
अन्तरक्रियामा सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्ने, सिफारिस प्रक्रियामा एकरूपता ल्याउने तथा अन्तरनिकायबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो। साथै, कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई पारदर्शी र परिणाममुखी बनाउन प्रत्येक निकायले आफ्नो जिम्मेवारीभित्र आवश्यक सुधारका कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रमले स्थानीय तहदेखि संघीय निकायसम्मको समन्वय अभिवृद्धि गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने विश्वास लिइएको छ।