आत्महत्या दुरुत्साहनको आरोपसहित प्रधानाध्यापकको भावुक सुसाइड नोट सार्वजनिक के–छ सुसाइड नोटमा ?

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका वडा नं. ४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिह धामीले आफूलाई सामाजिक, मानसिक तथा संस्थागत रूपमा चरित्रहत्या गरिएको आरोप लगाउँदै लामो भावुक सुसाइड नोट सार्वजनिक गरेका छन् ।

प्रधानाध्यापक धामीले आफ्नो मृत्युका लागि विद्यालयका केही शिक्षक, स्थानीय राजनीतिक व्यक्तित्व तथा ठेकेदारलाई जिम्मेवार ठहर गर्दै परिवार, सरकार र सम्बन्धित निकायलाई न्यायका लागि अपिल गरेका छन् । उनले आफू एक इमानदार शिक्षक भएको उल्लेख गर्दै विद्यालयलाई नमुना विद्यालय बनाउने अभियानमा लागेको तर विभिन्न व्यक्तिहरूले षड्यन्त्रपूर्वक आत्मसम्मानमा चोट पुर्‍याएर आत्महत्या गर्न बाध्य बनाएको दाबी गरेका छन् ।

सुसाइड नोटमा उनले विद्यालयमा आफ्नो कार्यकालमा गरेका विभिन्न सुधारात्मक तथा भौतिक विकासका कामहरूको लामो सूची प्रस्तुत गरेका छन् । जसमा १८ कोठे पक्की भवन निर्माण, स्मार्ट बोर्ड जडान, आईसीटी प्रयोगशाला स्थापना, पुस्तकालय, विज्ञान तथा कृषि प्रयोगशाला निर्माण, हरित विद्यालय अभियान, शिक्षक आचारसंहिता कार्यान्वयन, अतिरिक्त कक्षा सञ्चालन, नि:शुल्क पोशाक वितरण लगायतका कार्यक्रम समावेश छन् ।

प्रधानाध्यापकले विद्यालयलाई “डम्पिङ साइट जस्तो अवस्थाबाट नमुना विद्यालयमा रूपान्तरण गरेको” दाबी गर्दै केही शिक्षकहरू प्रधानाध्यापक बन्न नपाएको रिस र आर्थिक स्वार्थका कारण आफ्नो विरोधमा लागेको उल्लेख गरेका छन् ।

सुसाइड नोटमा उनले केही व्यक्तिहरूले आफूविरुद्ध झुटा बलात्कार आरोप फैलाएको, समुदायमा भ्रम सिर्जना गरेको तथा मानसिक तनाव दिएर आत्मसम्मानमा गम्भीर चोट पुर्‍याएको आरोप लगाएका छन् । उनले घटनाको निष्पक्ष अनुसन्धान, कल डिटेल परीक्षण तथा डीएनए परीक्षणमार्फत सत्य बाहिर ल्याउन माग गरेका छन् ।

प्रधानाध्यापकले परिवारलाई सम्बोधन गर्दै आफ्ना छोराहरूलाई “मुटु दरो बनाउन” आग्रह गरेका छन् भने पत्नीलाई छोराहरूको भविष्यको ख्याल गर्न अनुरोध गरेका छन् । साथै, शिक्षण पेशामा नलाग्न समेत परिवारलाई सुझाव दिएका छन् ।

उनले नेपाल सरकार, रवि लामिछाने लगायत विभिन्न राजनीतिक नेतृत्व, स्थानीय सरकार तथा न्यायालयसमक्ष निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिरहेको स्रोतले जनाएको छ।

विद्यालय सुधारका ४६ बुँदा सार्वजनिक गर्दै प्रधानाध्यापकद्वारा विद्यालयमै देह त्याग

Leave A Reply

Your email address will not be published.