ग्यास कालोबजारी नियन्त्रण गर्न दार्चुलामा प्रशासनको कडाइ, १६ फर्ममा अनुगमन

दार्चुला । दार्चुलामा ग्यासको कृत्रिम अभाव, कालोबजारी तथा चर्को मूल्य नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले संयुक्त बजार अनुगमन सञ्चालन गरेको छ।

प्रशासनको समन्वयमा महाकाली नगरपालिका–४ र ५ अन्तर्गत गल्फैदेखि बाँगाबगड क्षेत्रसम्म रहेका १६ वटा ग्यास डिलर तथा विक्रेता फर्ममा अनुगमन गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको नेतृत्वमा गरिएको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो। अनुगमन टोलीले बजारमा हाल ८०२ थान ग्यास सिलिन्डर सुरक्षित भण्डारण अवस्थामा रहेको जनाएको छ।

अनुगमनका क्रममा उपभोक्ताको माग र सहजतालाई ध्यानमा राख्दै हाल ७.१ किलो तौल भएका आधा सिलिन्डर मात्रै बिक्री–वितरण भइरहेको पाइएको छ। ती सिलिन्डरको मूल्य प्रतिगोटा रु १४५० देखि रु १५०० सम्म कायम रहेको प्रशासनले जनाएको छ।

प्रशासनले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न, ग्यास लुकाउने तथा कालोबजारी गर्ने कार्य तत्काल बन्द गर्न व्यवसायीलाई निर्देशन दिएको छ। साथै निर्धारित मूल्यभन्दा बढी रकम असुल गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर खरिद तथा भण्डारण नगर्न आग्रह गर्दै प्रशासनले बजारमा अभाव, चर्को मूल्य वा कालोबजारी देखिए तत्काल जानकारी गराउन अनुरोध गरेको छ।

Leave A Reply

Your email address will not be published.