दार्चुला । अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर–पश्चिममा रहेको पालिकाको वडा नम्बर ३ गौड्याखोलासम्म सडक पुगेको हो ।
सडकको अभावमा यातायात र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाइ भोग्दै आएका स्थानीयमा अब राहतको आशा पलाएको छ ।
गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म पुग्नेछ भने आउँदो आर्थिक वर्ष पालिका मुकाम नौपाटासम्म गाडी सञ्चालन गर्ने लक्ष्य छ । पारिवगर–मकरीगाड सडक दुई वर्ष भित्र कालोपत्र गर्न ठेक्का लागिसकेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपिहिमाललगायत अन्य पालिकाहरूलाई सडक सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ । सडक जोड्न सङ्घीय सरकारले विशेष प्राथमितामा राखेको छ । अपिहिमाल गाउँपालिकाले सडकलाई निरन्तर प्राथमिकता दिँदै निर्माण अघि बढाएको छ ।
स्थानीय दीपक टमटाले गाउँपालिका केन्द्रसम्म पनि सडक पुग्ने सम्भावना भएसँगै दैनिकी सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार भट्टारभन्दा अगाडि सडक पुगिसकेको छ भने निर्माण निरन्तर जारी रहेकाले छिट्टै पालिका केन्द्रसम्म सवारी सञ्चालन हुने विश्वास स्थानीयले गरेका छन् ।
गाउँपालिका केन्द्र वडा नं ४ को नौपाटामा पर्छ । सडकले गाउँपालिकाका वडा नं ३ र ४ लाई जोड्छ । यो ठाउँमा सडक काट्न चट्टानी भू–भाग नहुँदा पनि सडकले गति लिनेछ । अपिहिमाल–१ र २ मा सडक सञ्जालले तत्काललै जोडिने सम्भावना छैन् । तर वडा नम्बर ३ को काफलधारसम्म पनि सडक पुग्दा थोरै भए पनि अन्य वडाको लागि राहत हुने स्थानीय बताउँछन् ।
गाउँपलिकाका अध्यक्ष बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिने छ । मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग उछिनेर अब सहज ठाउँमा सडक निर्माण अघि बढेको छ । अध्यक्ष बोहराका अनुसार पारिवगर–मकरीगाड सडक स्तरोन्नतिको ठेक्का लागिसकेको छ ।
दुई वर्षभित्र कालोपत्रसहित स्तरोन्नति सकिने छ । दुई वर्षभित्र सम्पन्न गर्नेगरी मकरीगाडमा मोटेरबल पुल निर्माणको ठेक्का भएको छ । अपिहिमाल–४ र ३ जोड्ने सडकमा रु सात करोड बजेट सुनिश्चित भएको भन्दै उहाँले आगामी आवमा सडक निर्माण पालिका केन्द्र पुग्नेछ ।रासस