दार्चुला । दार्चुलाका चार स्थानीय तहका विद्यालयहरुमा विद्यार्थीहरुको कान, दाँत र आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लाका चारवटा स्थानीय तहका विद्यालयहरूमा विद्यार्थीहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत स्वाथ्य कार्यालय दार्चुलाले जेठ २५ गते देखि जेठ २८ गतेसम्म जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयहरुमा शिविर सञ्चालन गर्ने जनाएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहका विद्यालयहरूमा विद्यार्थीहरूको कान, दाँत र आँखा चेकजाँच तथा उपचार शिविर सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख (अधिकृत प्रशासन) रमेश सिंह ओखेडाले जानकारी दिए ।
यसका लागि स्वास्थ्य कार्यालयले शैल्यशिखर नगरपालिका, अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाको स्वास्थ्य शाखालाई आवश्यक समन्वय गरिदिन समेत पत्रचार गरेको छ । शिविर पर्सि सोमबार जेठ २५ गते अपि हिमाल गाउँपालिकाको भवानी माध्यमिक विद्यालय सौगन्नाबाट सुरू गरिने भएको छ ।
यस्तै जेठ २६ गते मार्मा गाउँपालिकाको सल्लेधार मावि मुरैमा शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जेठ २७ गते शैल्यशिखर नगरपालिकाको गलैनाथ माध्यमिक झरकाँडा र जेठ २८ गते नौगाड गाउँपालिकाको केदारेश्वरी माध्यमिक सुण्डमुण्ड विद्यालयमा शिविर सञ्चालन हुनेछ ।
शिविरमा मुख्यगरी कान परीक्षण र उपचार सल्लाह, दाँतको परीक्षण, उपचार तथा दाँत माझ्ने उपयुक्त विधि र पटकको बारेमा परामर्श दिइनेछ। यसका साथै आँखाको जाँच, आँखाको सरसफाइ सम्बन्धी जानकारीमूलक सल्लाह र विद्यालय नजिक रहेका स्वास्थ्य संस्थाहरूबाट प्राप्त गर्न सकिने कान, दाँत र आँखा स्वास्थ्य सम्बन्धी सेवाहरूको बारेमा जानकारी गराइने स्वास्थ्य कार्यालयले जनाएको छ।
