दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाहरूबाट रचनात्मक सुझाव माग गरेको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरूका सम्बन्धमा नवीनतम एवं सिर्जनशील सल्लाह र सुझावहरू उपलब्ध गराउन सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक राज जोशीद्वारा जारी सूचना अनुसार, इच्छुक व्यक्ति वा संस्थाहरूले सूचना प्रकाशित भएको ७ दिनभित्र आफ्ना सुझावहरू दिन भनेको छ । सुझावहरू सहज रूपमा संकलन गर्नका लागि गाउँपालिकाले विभिन्न प्रविधिको प्रयोग गरेको छ।
सरोकारवालाहरूले गाउँपालिकाको आधिकारिक इमेल ठेगानाहरू ([email protected] वा [email protected]), ह्वाट्सएप (WhatsApp) नम्बरहरू (९८६८७७७२९० / ९७६०८०४२९४) तथा सूचनामा उपलब्ध गराइएको क्यूआर कोड (त्तच् ऋयमभ) स्क्यान गरेर आफ्ना राय, सल्लाह र सुझावहरू डिजिटल माध्यमबाटै पठाउन सक्ने व्यवस्था मिलाइएको छ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।
स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजन विधेयकसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
