दार्चुलामा जनगणनाको काम अन्तिम चरणमा

दार्चुला – राष्ट्रिय जनगणनाको काम दार्चुलासहित देशभर अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म दार्चुलामा झण्डै ९० प्रतिशत गणनाको काम सम्पन्न भइसकेको जिल्ला जनगणना कार्यालय दार्चुलाका जनगणना अधिकृत पदमराज पाण्डेले जानकारी दिनुभयो ।

जनगणना गर्न ढिलाइ भएको व्यास गाउँपालिका वडा नम्बर १ मा समेत सोमबार जनगणना टोली पुगेर काम थालिसकेको र अबको दुई दिन भित्रमै गणनाको काम सम्पन्न गर्ने तयारी छ ।

सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका उहाँले बताउनुभयो । अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति छुटेको भए गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न उहाँको आग्रह छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशभर मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पर्सि सम्ममा गणनाको मुख्य काम सकिसक्नु पर्ने भएकाले कोही छुटेको भए सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.