काठमाडौं । फेसबुक स्टासस त हर्क सम्पाङको आइरहन्छ । यसरी आइरहन्छ, मानौं उनले स्टाटस लेख्ने ठेक्का नै लिएका हुन् । हरेक क्षण श्रृंखलाबद्ध स्टाटस देखेर हर्क साम्पाङमाथि कुनै शंसय नगरे हुन्छ कि, उनलाई आज के भएछ ?
बरू उनले स्टाटस लेख्न छाडे भने सोच्नुहोला, ‘उनलाई आज के भएछ ?’
हो पनि, हर्क साम्पाङको हृदयगति जस्तै देखिन्छ उनले लेखिरहने फेसबुक स्टाटस पनि । रोचक कुरा त के भने, उनको स्टाटसमा तारिफ भन्दा गाली बढी हुन्छ । किनभने उनले स्टाटस नै यस्तो लेख्छन् कि, त्यसले मान्छेलाई दुई कित्तामा बाढिदिन्छ । एउटा ताली बजाउने, अर्को गाली गर्ने।
उनको स्टाटसमा चाहिँ गाली गर्नेको पल्ला भारी हुन्छ । अनेक किसिमले ट्रोल गर्नेदेखि सुझाव दिनेसम्मको त्यहाँ ताँती हुन्छ । उनको स्टाटस धेरैका लागि रमाइलो गर्ने मेलो बन्छ । कला सिनेमाको बजार सुस्ताएको यो मौसममा उनको स्टाटस हेरेर ‘हल्का रमाइलो’ गर्नेहरूको पनि यहाँ कमी छैन।
तर, पछिल्लो स्टाटस त्यस्तै छैन, जस्तो उनको पूर्ववत् शैली थियो । रुखोसुखो कुरा गर्ने हर्क साम्पाङको पछिल्लो स्टाटस भने कुनै कवि वा कमलो मनले लेखिए जस्तो छ ।
आकाश छेड्ला जस्तो अग्लो र भिरालो पहाडको फेदमा उभिएर उनले लेखेका छन्, ‘दार्चुला…मुटु भरि तिम्रै माया र सम्झना बोकेर फर्कंदैछु । यो जुनीमा फेरि हाम्रो भेट होला नहोला थाहा छैन तर कोसिस अवश्य रहनेछ फेरि भेट्ने । सरकारमा म छैन तर सरकारलाई तिम्रो दु:खबारे सदैव सम्झाइरहनेछु । तिम्रो हाँसोमा म हाँसेको हुनेछु, तिम्रो आँसुमा म पनि रुनेछु । तिमी पनि मलाई नबिर्स है । म त सधैं भरि तिमलाई सम्झिनै रहनेछु।’
उनको यसपालीको स्टाटसमा खिल्ली उडाउने, गाली गर्नेहरूको लस्कर छैन । बरू, उस्तै भावनाले प्रत्युत्तर दिनेहरू छन् । त्यहाँ एंग्री, हाहा वा स्याड रियाक्सन होइन । लभ रियाक्सनको थाक लागेको छ ।
तस्वीर पनि बिम्बात्मक छ, चट्टाने पहाडतर्फ निर्निमेष हेरिरहेको । सायद त्यसले दार्चुला कस्तो कठोरतासँग जुधिरहेको छ भन्ने देखाउँछ ।
उनी किन दार्चुला गए ? दार्चुलासँग किन भावना जोडे ? यसबारे त केही भन्नै पर्दैन । उनले पलपलको खबर तपाईंहामीलाई पेश गरेकै छन् ।