दार्चुलामा गाँजा फडानी अभियान तीव्र, २७ हजार २५ गाँजाका बोट नष्ट

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लाभर गाँजा फडानी अभियानलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालयहरूले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीयवासीको सहयोगमा अभियान सञ्चालन गरिरहेका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय दार्चुलामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रहरी निरीक्षक हेमराज भट्टले गाँजा फडानी अभियान जिल्लाभर प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिए।

उनका अनुसार ग्रामीण क्षेत्रमा औषधीय प्रयोजनको नाममा गाँजाका बोट संरक्षण गर्ने प्रवृत्ति देखिएकाले त्यसले भविष्यमा लागुऔषध प्रयोगकर्ता बढाउने जोखिम रहने भएकाले अभियानलाई प्राथमिकता दिइएको हो।

प्रहरीका अनुसार हालसम्म जिल्लाभर सत्ताइस हजार पच्चीस (२७,०२५) वटा गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ। प्रहरीले आगामी दिनमा पनि गाँजा खेती तथा लागुऔषध नियन्त्रणका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायसँगको सहकार्यमा अभियानलाई निरन्तरता दिइने जनाएको छ।

Leave A Reply

Your email address will not be published.