दार्चुलामा राहदानी सेवा अनिश्चितकालका लागि अवरुद्ध

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नयाँ राहदानी प्रणाली सञ्चालनमा प्राविधिक समस्या देखिएकाले राहदानी सेवा अर्को सूचना जारी नभएसम्मका लागि अवरुद्ध भएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी वर्तिराज पौडेलद्वारा जारी सूचनाअनुसार राहदानी विभागले हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्ने क्रममा असार २४ देखि २६ गतेसम्म सेवा बन्द गरिएको थियो।

त्यसपछि असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत नियमित सेवा सञ्चालन गर्ने तयारी गरिएको भए पनि प्राविधिक कारणले प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले राहदानी विभागसँग निरन्तर समन्वय गरी समस्या समाधानको प्रयास भइरहेको जनाएको छ। विभागबाट समस्या समाधान भई सेवा पुन: सञ्चालन हुनेबित्तिकै सार्वजनिक सूचनामार्फत जानकारी गराइने पनि कार्यालयले उल्लेख गरेको छ।

सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै कार्यालयले धैर्य गर्न अनुरोध गरेको छ। साथै, राहदानी सेवा पुन: नियमित भएपछि मात्र कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.