धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा सुरु भएसँगै यात्रा जोखिमपूर्ण बन्छ । यो एक पटकको मात्रै समस्या होइन, हरेक बर्खामा दोहोरिने समस्या हो ।
डेढ–दुई दशक अघिसम्म सुदूरपश्चिमका पहाडी जिल्लामा सदरमुकामसम्म मात्र सडक सञ्जाल सीमित हुन्थ्यो । १०–१२ वर्ष यता सुदूरपश्चिमका गाउँ–गाउँमा सडक पुगेको छ । गाउँलाई जोड्ने अधिकांश यी साँघुरा कच्ची सडक बर्खामा हिलो, पहिरोले धराप बन्ने गर्छन् । जसले गर्दा पहाडी जिल्लामा गुड्ने बोलेरो जीप दुर्घटनाको उच्च जोखिममा पर्न थालेको प्रहरीको अनुसन्धानले देखाउँछ ।
बझाङको छविस पाथीभेरा गाउँपालिका–१ का वीरबहादुर नेपाली बर्खा लागेपछि यात्रा गर्नै डर लाग्ने बताउँछन् । दैनिक कामकाज, बजार आउजाउ र सामान ढुवानीका लागि बोलेरो नै भरपर्दो साधन भए पनि वर्षातमा यात्रा असुरक्षित हुने उनले बताए ।
‘पानी परेपछि सडक हिलाम्मे हुन्छ । कतिखेर गाडी चिप्लिन्छ भन्ने डर हुन्छ । कहिले कालोपत्रे सडकमा निर्धक्क यात्रा गर्न पाइएला भन्ने लाग्छ,’ उनले भने ।
बझाङमात्र होइन, दार्चुला, बाजुरा, बैतडी, डोटी, अछाम, डडेल्धुरा लगायत सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाको अवस्था उस्तै छ । स्थानीय तहले संघ र प्रदेश सरकारको अनुदानमा बजेट पाएपछि वर्षौंदेखि ग्रामीण सडक विस्तार त गरे, तर धेरै सडक इन्जिनियरिङ मापदण्डअनुसार निर्माण हुन सकेनन् । कतै सडक अत्यन्त साँघुरा छन्, कतै मोडमा गाडी घुमाउनै मुस्किल छ । बर्खा लागेपछि हिलो, पहिरो र भलले ती सडक झन् जोखिमपूर्ण बन्छन् ।यस वर्ष पनि बर्खा सुरु हुनासाथ सडकका कारण बोलेरो जीपहरु दुर्घटनाका सिकार बने ।
साउन २ गते डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखानमा धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा दुई जनाको मृत्यु भयो, जसमा चालकसहित तीन जना घाइते भए । प्रहरीका अनुसार जीप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।
त्यसअघि असार २७ गते बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा तीन जनाले ज्यान गुमाए ।असार ६ गते बैतडीको सिगास गाउँपालिकामा उकालो चढ्ने क्रममा जीप ब्याक भई करिब दुई सय मिटर तल खसेको थियो । चालकले समयमै हामफालेर ज्यान जोगाए ।
साउन ३ गते बाजुराको हिमाली गाउँपालिकामा भएको अर्को दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भयो । सो दुर्घटनामा अन्य सात जना घाइते भए ।
दुर्घटनाको शृङ्खला बढिरहेका छन् । प्रहरीका अनुसार दुर्घटनाको मुख्य समस्या वर्षासँगै सडकको अवस्था हो ।
उनका अनुसार साँघुरा सडक, पर्याप्त टर्निङ नहुनु, मापदण्डविपरीत निर्माण भएका सडक र क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिले दुर्घटना बढाइरहेको छ ।
‘हाम्रो तथ्याङ्कले पनि दुर्घटनाको मुख्य कारण सडक नै देखाएको छ । त्यसमा चालकले क्षमताभन्दा बढी यात्रु राख्नु अर्को कारण हो,’ उनले भने ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चालक र यातायात व्यवसायीलाई नियमित सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । अनुमतिभन्दा बढी सिट जडान गरिएका गाडी हटाउने, बढी यात्रु बोकेको भेटिए नियन्त्रण गर्ने तथा स्थानीय तहसँग समन्वय गरेर जोखिम घटाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीसमक्ष अर्को चुनौती पनि छ– दुर्गम भूगोल ।
प्रहरी निरीक्षक विष्टका अनुसार दुर्घटना भएको स्थानसम्म प्रहरी पुग्न नै तीन घण्टाभन्दा बढी समय लाग्ने अवस्था छ । त्यसैले उद्धार कार्य पनि निकै कठिन हुने गरेको छ ।
दुर्घटनाको दोष चालकलाई पनि आउँछ, तर बोलेरो जीप चालकका पनि आफ्नै दु:ख छन् । बाजुराका बोलेरो चालक भीम बुढा आफूहरूले दैनिक मृत्युको जोखिम बोकेर स्टेरिङ समात्ने गरेको बताउँछन् ।
‘कतिपय सडक यस्ता छन्, जहाँ गाडी चलाउँदा फर्केर आउँछु कि आउँदिन भन्ने पनि थाहा हुँदैन । दुर्घटना हुँदा धेरै दु:ख लाग्छ । तर गाउँका मानिसलाई सेवा दिन पनि यही गाडी चलाउनुपर्छ,’ उनले भने ।
उनका अनुसार गाउँमा सडक पुगेपछि नागरिकको जीवन सहज बनेको छ । बिरामी अस्पताल पुग्न, विद्यार्थी विद्यालय जान, कृषकले उत्पादन बजार पुर्याउन र आवश्यक सामग्री गाउँसम्म ल्याउन बोलेरोले ठुलो भूमिका खेलेको छ, तर सडक स्तरोन्नति नहुँदा त्यही गाडी अहिले सबैभन्दा बढी दुर्घटनामा परिरहेको छ ।
सुदूरपश्चिमका ८८ स्थानीय तहमा अझै पनि अधिकांश ग्रामीण सडक मापदण्डअनुसार निर्माण हुन सकेका छैनन् । वर्षातमा ती सडक हिलाम्मे हुने, पहिरो जाने र सवारी चिप्लिने समस्या बर्सेनि दोहोरिन्छ ।