बाढी–पहिरोबाट कसरी जोगिने ? यस्ता छन् दार्चुला प्रहरीका सुझाव

दार्चुला। जिल्ला प्रहरी कार्यालय दार्चुलाले वर्षायाममा निरन्तर वर्षा भइरहेका कारण महाकाली, चौलानी लगायतका नदी तथा खोलामा पानीको बहाव बढ्दै गएको भन्दै बाढी, पहिरो र कटानको जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

कार्यालयले सार्वजनिक गरेको सूचनामार्फत नदी तथा खोलाको किनारमा पौडी खेल्न, लुगा धुन, माछा मार्न, दाउरा वा बालुवा निकाल्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न अनुरोध गरेको छ। साथै बालबालिकालाई पनि यस्ता जोखिमयुक्त क्षेत्रमा जान नदिन अभिभावकलाई सचेत गराइएको छ।

प्रहरीले बाढी र पहिरोको जोखिम रहेका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा बस्न तथा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ। विशेषगरी राजमार्गमा यात्रा गर्ने सवारी चालकले स्थानीय प्रहरी चौकी वा ट्राफिक प्रहरीबाट सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्नुपर्ने जनाएको छ।

यस्तै, पुल नभएका वा पानीको बहाव बढी भएका खोला–नाला तर्ने प्रयास नगर्न, पहिरोका कारण सडक अवरुद्ध भएमा यात्रुलाई बीच बाटोमा अलपत्र नछाड्न तथा जोखिमयुक्त स्थानमा भिडियो वा फोटो खिच्ने उद्देश्यले अनावश्यक रूपमा नजान पनि प्रहरीले अनुरोध गरेको छ।

विपद्का समयमा अफवाह नफैलाउन, गलत सूचना वा हल्लामा विश्वास नगर्न तथा कुनै पनि विपद्जन्य घटना, स्वास्थ्य समस्या वा आपतकालीन अवस्था देखिएमा तत्काल नेपाल प्रहरीको आपतकालीन नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय दार्चुलामा सम्पर्क गर्न आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.