दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा निर्माणाधीन २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन मा सरोकारवालासँग राय तथा सुझाव माग गरिएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गरी सम्बन्धित व्यक्ति, स्थानीय समुदाय तथा सरोकारवालालाई सात दिनभित्र लिखित रूपमा राय वा सुझाव पेस गर्न आग्रह गरेको हो।
मन्त्रालयका अनुसार दार्चुला पावर लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजनाको पूरक प्रतिवेदन स्वीकृतिका लागि मन्त्रालयमा पेस गरिएको छ। यसअघि स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएका आयोजनाका केही मुख्य संरचनाको स्थान परिवर्तन गरिएकाले पूरक वातावरणीय अध्ययन तयार गरिएको हो।
आयोजनाअन्तर्गत मार्मा गाउँपालिका–२ स्थित चमेलिया नदीमा बाँध निर्माण गरी नदीको पानी हेडरेस पाइपमार्फत वडा नं. ३ मा प्रस्तावित सतही विद्युतगृहसम्म पुर्याइनेछ। त्यहाँबाट विद्युत उत्पादन गरेपछि पानी टेलरेसमार्फत पुनः चमेलिया नदीमै मिसाइने प्रतिवेदनमा उल्लेख गरिएको छ।
वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम प्रतिवेदन सार्वजनिक गरी प्रभावित पक्ष तथा सरोकारवालाबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
उता, आयोजनाको प्रवर्द्धक दार्चुला पावर लिमिटेडले मार्मा क्षेत्रमा मध्य चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।
