दार्चुलाका दुई स्थानीय तहमा आज सार्वजनिक बिदा

शिखर पूजन जात्रामा क्षेत्री समाजद्वारा नि:शुल्क फलफूल वितरण

दार्चुला । दार्चुलाका दुई स्थानीयतहले शिखर पूजन जात्राका अवसरमा सार्वजनिक बिदा दिएका छन्।
मालिकार्जुन गाउँपालिका वडा–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्।
जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन शिखर पूजन जात्रा लाग्ने गरेको छ ।

हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ। शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेको स्थानीयहरुको भनाई छ ।

मालिकार्जुन–३ मडस्थित भण्डारी घरदेखि आज विहानै देखि शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ । शिखर धामको दर्शन गर्न आईतबार देखि नै अधिकांश जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु मालिकार्जुन पुगेका छन् ।

बर्सेनि हजारौँ श्रद्धालु भक्तजनले पूजन जात्रामा शिखर धामको दर्शन गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन्। यो जात्रा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा मनाइन्छ। मालिकार्जुनबाट सुरु हुने जात्रा बिहानै शिखर धुरा पुगेर पूजापाठ गर्ने चलन छ। पूजापाठपछि उनीहरु पुन: मालिकार्जुन मन्दिरमा पुगेर जात्रा विर्सजन गर्ने गर्छन्।
शिखर पूजन जात्रामा क्षेत्री समाजद्वारा नि:शुल्क फलफूल वितरण

दार्चुला । शिखर पूजन जात्राको अवसरमा क्षेत्री समाज दार्चुलाले मालिकार्जुन मन्दिर परिसरमा आएका भक्तजनलाई नि:शुल्क फलफूल वितरण गरेको छ।
धार्मिक यात्रामा सहभागी श्रद्धालुहरूलाई सहजता र सेवाभावका साथ फलफूल वितरण गरिएको समाजले जनाएको छ।
समाजले विगतका वर्षदेखि निरन्तर रूपमा यस प्रकारको सेवा सञ्चालन गर्दै आएको छ।
समाजका पदाधिकारीका अनुसार धार्मिक तथा सामाजिक सेवामार्फत भक्तजनप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

Leave A Reply

Your email address will not be published.