दार्चुलामा सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती

उमेश सिंह धामी

दार्चुला । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि दार्चुलाका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ। सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन्।

सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ। स्थानीय तहहरुले बैंक खाता मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि सेवाग्राहीहरुलाई निकै समस्या  भएको स्थानीयहरु बताएका छन।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३  का ८२ बर्षिया गुन्ना देवी धामीले बृद्ध भत्ता बुझ्न गाउँपालिका केन्द्र शंकरपुर जानुपर्ने र बिरामी भएको कारण आफुले बृद्ध भत्ता बुझ्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो उसै पनि पस्ती( गाउँपालिका केन्द्र शंकरपुर) जान समस्या समस्या हुन्थ्यो त्यसमा पनि बिरामी भएर थलिएको छु , बुहारीलाई भत्ता बुझ्न लगाउदा मलाइनै आउनु भन्यो रे म सक्दिन, उता जान म सक्दिन बरु भत्ता नदिए नदिउन उहाँले आक्रोस पोख्नुभयो ।

उहाँ जस्तै गाउँपालिका र जिल्लाका अधिकांस सामाजिक सुरक्षा भत्ता पाउने नागरिक समस्यामा परेका छन। भौगोलिक विकटता रहेको दार्चुलाका  सबै जसो स्थानीय तहका केन्द्रमा मात्रै बैकका शाखाहरु रहेका छन । सेवाग्राहीलाइ भत्ता बुझ्न गाउँपालिका केन्द्र जानै पर्ने बाध्यता रहेको छ । सस्तो लोकप्रीयताका लागी सामाजीक सुरक्षा भत्ता घर घरमै गएर वितरण गर्ने बताएका स्थानीय तहहरुले अहिले बैंक सम्म जान नसकेर भत्ता रोकिदा समेत कुनै चासो नदेखाएको सेवाग्राहीको गुनासो रहेको छ ।

 

भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौँ पैदल हिँडेर बजार पुग्नुपरेको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ का स्थानीय गोपाल सिंह धामीले बतााउनुभयो । । जिल्लाका अधिकांश लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि कम्तीमा दुई घण्टादेखि एक दिन हिँडेर बैंक पुग्ने गरेका छन्। बैक पुगे पनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौँ लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौँ हिँडनुपर्ने बाध्यता रहेको उहाँहरूको गुनासो छ। कहिलेकाहीँ बैंकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्कनुपर्दा झन् समस्या हुने गरेको छ।

 

गाउँनजिकै बैंक नहुने र टाढा–टाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौँ बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन्। यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकामा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकलाई सास्ती भएको हो। स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता सहजरूपमा वितरण गरिनुपर्ने लाभग्राहीको माग छ।

Leave A Reply

Your email address will not be published.