दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–६ मा प्रहरीले अवैध रूपमा उम्राइएका तथा आफैं उम्रिएका १० हजारभन्दा बढी गाँजा (भाङ) का बोट नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट प्रहरी हवल्दार वीर सिंह साउदको कमाण्डमा खटिएको ४ सदस्यीय प्रहरी टोलीले गणेत, बंसल्ला र तिउनेगाउँ क्षेत्रमा पुगेर उक्त गाँजाका बोट फडानी गरी नष्ट गरेको हो।
प्रहरीका अनुसार लागुऔषध नियन्त्रण तथा गाँजा खेती उन्मूलन अभियानअन्तर्गत सञ्चालन गरिएको कारबाहीमा सम्बन्धित क्षेत्रमा रहेका अवैध गाँजा खेती नष्ट गरिएको हो।
लागुऔषधको उत्पादन, ओसारपसार तथा दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाउँदै प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।
प्रहरीले लागुऔषधमुक्त समाज निर्माणका लागि अवैध गाँजा खेती नगर्न तथा यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन स्थानीयवासीसँग आग्रह गरेको छ।
