सडक बनेको आठ वर्षपछि बरमुडेमा पहिलो पटक गाडी पुग्यो

दार्चुला । शैल्यशिखर नगरपालिका–५ स्थित बरमुडेमा सडक निर्माण भएको आठ वर्षपछि पहिलो पटक सवारीसाधन पुगेको छ।

सोमबार व्यास गाउँपालिका–५ धौलाकोटका कृष्णबहादुर कुँवरले सञ्चालन गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५९४ नम्बरको बोलेरो जीप पहिलो पटक बरमुडेको घट्टे बजारसम्म पुगेको हो।
उक्त जीपले अब बरमुडे–गोकुलेश्वर रुटमा नियमित रूपमा दैनिक बिहान ८ बजेदेखि सेवा सञ्चालन गर्नेछ।

बरमुडेदेखि गोकुलेश्वरसम्मको भाडा प्रतियात्री १५० रुपैयाँ निर्धारण गरिएको स्थानीय राजेन्द्र साउँदले जानकारी दिए।

यसअघि बरमुडेका स्थानीय बासिन्दाले बगौरा बजारबाट दैनिक उपभोग्य सामग्री तथा अन्य सामान पैदल बोकेर घरसम्म लैजानुपर्ने बाध्यता थियो। नियमित यातायात सेवा सुरु भएसँगै स्थानीयको लामो समयदेखिको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीले आठ वर्षपछि गाउँमा पहिलो पटक गाडी पुगेकोमा खुसी व्यक्त गर्दै नियमित यातायात सेवाले दैनिक आवतजावत, व्यापार तथा अत्यावश्यक सामग्री ढुवानीमा ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.