दार्चुला । नेपाली कांग्रेस अपिहिमाल गाउँकार्य समितिका सभापति तथा नेपाली कांग्रेस दार्चुलाका जिल्ला प्रतिनिधि शोवन सिंह लोथ्यालको डडेल्धुरामा भएको जीप दुर्घटनामा परी निधन भएपछि अपि हिमाल गाउँपालिका–१ खण्डेश्वरीमा शोकसभा आयोजना गरिएको छ।
नेपाली कांग्रेस दार्चुला जिल्ला कार्यसमितिका सचिव पुलेन्द्रबहादुर कार्कीका अनुसार गाउँपालिका उपसभापति रायमती ठेकरेको अध्यक्षतामा आयोजित शोकसभामा नेपाली कांग्रेस दार्चुलाका जिल्ला सभापति ललित सिंह बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा गाउँपालिकाका नेता तथा कार्यकर्ता, जिल्लास्तरीय नेताहरू र शोकाकुल परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।
शोकसभामा वक्ताहरूले स्वर्गीय लोथ्यालले नेपाली कांग्रेसको संगठन सुदृढीकरण, लोकतान्त्रिक आन्दोलन तथा समाजसेवामा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। स्वर्गीय लोथ्याल नेपाली कांग्रेस दार्चुलाका जिल्ला प्रतिनिधिसमेत हुनुहुन्थ्यो।
उनको असामयिक निधनले पार्टी संगठन र जिल्लाको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै सहभागीहरूले दु:ख व्यक्त गरेका थिए । श्रावण १ गते धनगढीबाट दार्चुला आउँदै गरेको जीप डडेल्धुरामा दुर्घटनामा परेको थियो । डडेल्धुराको अमरगढी नगरपालिका–७, खसरेखान नजिक दुर्घटना हुदा दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ४५ वर्षका शोवन सिह लोथ्याल र हनु लोथ्यालको मृत्यु भएको थियो ।
