विद्यालय समयमै उपस्थित हुन शिक्षकलाई महाकाली नगरपालिकाको निर्देशन
आचारसंहिता विपरीत गतिविधि गरे कारबाही
दार्चुला । महाकाली नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक, प्रशिक्षक तथा कर्मचारीलाई विद्यालय समयमा नियमित रूपमा उपस्थित भई पठनपाठन सञ्चालन गर्न तथा पेशागत आचरण पालना गर्न निर्देशन दिएको छ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राप्त गुनासो तथा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा नगरपालिकाले उक्त निर्देशन जारी गरेको जनाएको छ।
नगरपालिकाका अनुसार केही शिक्षक तथा कर्मचारी विद्यालयमा न्यून उपस्थित हुने, विद्यालय समयमा अन्य व्यवसाय तथा गैरशैक्षिक गतिविधिमा संलग्न हुने सम्बन्धी उजुरी प्राप्त भएपछि निर्देशन जारी गरिएको हो।
नगरपालिकाले विद्यालय समयमा कुनै पनि गैरशैक्षिक गतिविधिमा संलग्न नहुन, नियमित रूपमा पठनपाठन सञ्चालन गर्न तथा शिक्षक–कर्मचारीले पेशागत आचरण पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
साथै, प्रचलित ऐन, कानुन तथा आचारसंहिताविपरीत गतिविधि गरेको पाइएमा नियमानुसार कारबाही गरिने चेतावनी पनि नगरपालिकाले दिएको छ।
