काठमाडौं । रसुवामा विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका ११ जना सकुशल भेटिएका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्कविहीनको सूचीमा रहेका ११ जना आफन्त तथा प्रहरीको सम्पर्कमा आएका हुन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टका अनुसार सकुशल भेटिनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का सुनिल चौधरी, भीमदत्त–६ की चन्दा जोशी, वेदकोट नगरपालिकाका अजय राना, सुरेश राना र सन्तोष राना, बेलौरी नगरपालिकाका नवीन चौधरी र आदर्श चौधरी, कञ्चनपुरकै राकेश भट्ट र प्रदीप चन्द तथा डडेल्धुराका सुनिल बुढामगर छन् ।
थप एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ११ जना सकुशल भेटिए पनि सुदूरपश्चिमका अझै १२९ जना सम्पर्कविहीन रहेको एसएसपी बिष्टले जानकारी दिए ।
प्रहरीले सम्पर्कविहीनहरूको खोजी तथा विवरण अद्यावधिक गर्ने कार्य जारी रहेको जनाएको छ । साथै आफन्तहरूलाई कुनै सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ ।
