रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति सुदूरपश्चिम विश्वविद्यालयले दु:ख व्यक्त गरेको छ ।
बाढीप्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । विश्वविद्यालयले करिब ८८ लाख रुपैयाँ जम्मा हुने अपेक्षा गरेको छ ।
विश्वविद्यालयको १३ भदौमा बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको मासिक पारिश्रमिकबाट रकम कट्टा गरी उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
निर्णयअनुसार उपकुलपतिबाट एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । त्यस्तै, प्राध्यापक, सह–प्राध्यापक, सह–प्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिनको तलब कट्टा गरिनेछ ।
उप–प्राध्यापक, उप–प्रशासक, सहायक प्रशासक, शिक्षण सहायक, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट ७ दिनको तलब, मुख्य सहायक, सहायक वा सो सरहका कर्मचारीबाट ५ दिनको तलब तथा श्रेणीविहीन कर्मचारीबाट २ दिनको तलब कट्टा गरिने विश्वविद्यालयले जनाएको छ ।
रजिस्ट्रार प्रा। डा। गोविन्द सिंह विष्टद्वारा जारी सूचनामा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
