दुहुँका वडा अध्यक्ष बमले भने– प्रवक्ता पदबाट राजीनामा दिएको हुँ, तर स्वीकृत भएको छैन

दार्चुला । दुहुँ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष देवबहादुर बमले गाउँ कार्यपालिकाको प्रवक्ता पदबाट राजीनामा दिएको पुष्टि गरेका छन् । तर, आफूले दिएको राजीनामा गाउँ कार्यपालिकाबाट स्वीकृत नभएको उनले स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा आफूले गाउँ कार्यपालिकाको प्रवक्ता पदबाट राजीनामा दिएको विषयमा विभिन्न समाचार सार्वजनिक भएपछि बमले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनका अनुसार २०८३ साल भदौ २४ गते बसेको गाउँ कार्यपालिकाको बैठकमा उनले स्वेच्छाले प्रवक्ता पदबाट राजीनामा दिएका थिए । बैठकमा राजीनामामाथि छलफल भए पनि उक्त राजीनामा स्वीकृत नभएको उनले जानकारी दिएका छन् ।

यसैबीच, आफू नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्न लागेको भन्दै सामाजिक सञ्जालमा फैलाइएका समाचारप्रति पनि बमले आपत्ति जनाएका छन् । उनले त्यस्ता समाचारमा कुनै सत्यता नभएको भन्दै भ्रामक प्रचार नगर्न आग्रह गरेका छन् ।

आफू नेकपा एमालेमै रहेको स्पष्ट पार्दै बमले एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आफू पार्टी परिवर्तन गर्न लागेको भन्ने समाचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

दुहुँ गाउँपालिकाको आधिकारिक वेबसाइटमा पनि देवबहादुर बमलाई वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ताका रूपमा उल्लेख गरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.