दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ गाउँपालिका–२ हेकातीकी ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
आइतबार बिहान करिब १० बजेतिर घरबाट करिब २ किलोमिटर टाढा रहेको खर फागालामा खर काट्ने क्रममा भिरबाट लडेर जोशीको मृत्यु भएको प्रहरी नायव निरीक्षक केशव शर्माले जानकारी दिए ।
मृतक जोशी दुहुँस्थित गौरीलमाडौँ माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रूपमा कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ । उनका एक छोरा र एक छोरी छन् ।
प्रहरी नायव निरीक्षक शर्माका अनुसार जोशीको शव पोस्टमार्टमका लागि घटनास्थलबाट जिल्ला अस्पताल दार्चुला ल्याइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
