दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले असोज ९ देखि ११ गतेसम्म अति आवश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको अध्यक्षतामा बसेको समन्वय बैठकले देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो ।
विपद्जन्य घटनाबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण, रोकथाम तथा नियन्त्रणका लागि जिल्लावासी तथा आमसर्वसाधारणलाई सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले नदी, खोला तथा खहरे नजिकका बस्ती र पहिरोको जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन, चनाखो रहन तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ ।
सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको छ ।
वर्षाका कारण सडक तथा राजमार्ग अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, स्थानीय तह तथा निर्माण व्यवसायीलाई सडक अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउन आवश्यक तयारी गर्न अनुरोध गरिएको छ । साथै, डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।
त्यस्तै, जिल्लास्थित सबै सुरक्षा निकाय, स्थानीय तह, विषयगत कार्यालय तथा नेपाल रेडक्रस सोसाइटीलाई खोज, उद्धार तथा प्रतिकार्यका लागि उच्च सतर्कतासहित तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
विपद्सम्बन्धी पूर्वसूचना तथा सचेतनामूलक जानकारी निरन्तर सम्प्रेषण गर्न रेडियो, एफएम तथा आमसञ्चार माध्यमलाई सहयोग गर्न अनुरोध गरिएको छ । प्रशासनले मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा लिनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी र समन्वयमा जुट्न प्रशासनले सबै सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।


