दार्चुला । भाद्र १० गतेको विनाशकारी रसुवा भोटेकोशी बाढीमा परी बेपत्ता भएका दार्चुलाका एक व्यक्तिको कुशको पुत्ला बनाई धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।
बाढीमा परी बेपत्ता भएका लेकम गाउँपालिका–३ लालीका धामी हालसम्म पनि सम्पर्कमा नआएको र भेटिने सम्भावना नरहेको भन्दै आफन्तजनले असोज ७ गते (आज) लालीस्थित आर्यघाटमा कुशको पुत्ला बनाई अन्तिम संस्कार गरेका हुन् ।
दार्चुलास्थित श्रीदल गुल्मका गुल्मपति राजकुमार थापाको नेतृत्वमा ३७ जनाको सैनिक टोलीले सलामी अर्पण गर्दै श्रद्धाञ्जलीसहित अन्तिम संस्कार सम्पन्न गरेको सैनिक दीपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
अन्त्येष्टिपछि दिवंगत धामीका बुबा, छोराहरू तथा अन्य आफन्तजन घर फर्किएका छन् ।
