दार्चुला । नेपाली कांग्रेस दार्चुलाले जिल्लाका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ ।
बुधबार जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो ।
नेपाली कांग्रेस दार्चुलाका जिल्ला सभापति ललित सिंह बोहराका अनुसार अधिवेशनबाट जिल्लाका नौवटै स्थानीय तहमा नयाँ सभापति चयन गरिएको बताए ।
अधिवेशनबाट जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकाको नगर सभापतिमा गजेन्द्र कार्की चयन भएका छन् । यस्तै, शैल्यशिखर नगरपालिकाको नगर सभापतिमा लक्ष्मण सिंह डागा निर्वाचित भएका छन् ।
जिल्लाको मार्मा गाउँपालिकाको सभापतिमा धनञ्जय जोशी, लेकम गाउँपालिकाको सभापतिमा मोहनदेव जोशी र मालिकार्जुन गाउँपालिकाको सभापतिमा किसन सिंह सामन्त निर्वाचित भएका छन् ।
त्यस्तै, दुहुँ गाउँपालिकाको सभापतिमा नरेन्द्र कुँवर, व्यास गाउँपालिकाको सभापतिमा दौलत सिंह खाती, नौगाड गाउँपालिकाको सभापतिमा गोविन्द सिंह ठगुन्ना र अपिहिमाल गाउँपालिकाको सभापतिमा चन्द्र सिंह कार्की निर्वाचित भएको जिल्ला सभापति बोहराले जानकारी दिए ।
यसअघि नेपाली कांग्रेसले असोज ३ र ४ गते जिल्लाभरका ६१ वटै वडामा वडा अधिवेशन सम्पन्न गर्दै नयाँ वडा सभापतिसमेत चयन गरिसकेको छ ।
