दार्चुला । निरन्तरको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उच्च भएपछि भारतको धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा गर्ने पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ ।
भारतको उत्तराखण्डस्थित धारचुला तहसिलबाट प्राप्त सूचनाअनुसार २०८३ असोज ११ र १२ गते धौलीगंगा बाँधको पानी छोडेर सिल्ट सफा गर्ने कार्यक्रम तय गरिएको थियो । तर, पछिल्लो समय भइरहेको निरन्तर वर्षा र महाकाली नदीको बढ्दो जल स्तरलाई मध्यनजर गर्दै उक्त कार्यक्रम स्थगित गरिएको हो ।
धारचुलाका उपजिलाधिकारी आशीष जोशीले धौलीगंगा पावर स्टेशनलाई पत्र पठाउँदै हालको प्रतिकूल मौसम र महाकालीको उच्च जल स्तरका कारण पानी छोड्दा नदीको सतह खतरा तहभन्दा माथि जान सक्ने जोखिम रहेको जनाएका छन् । त्यसैले प्रस्तावित मितिमा सिल्ट सफाइको काम नगरी अन्य मिति तय गर्न आग्रह गरिएको छ ।
धारचुलामा शनिबार साँझ महाकाली नदीको जल स्तर खतरा तहभन्दा करिब १ दशमलव ४० मिटर मात्रै तल रहेको बेला यस्तो निर्णय लिनु परेको जनाइएको छ । धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा गर्दा तटीय क्षेत्रमा ठूलो क्षति हुनसक्ने भएकोले पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरिएको भारतीय पक्षले जनाएको छ ।
अत्यधिक वर्षा भइरहेका बेला बाँधबाट थप पानी छोड्दा तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने प्रशासनको आकलन छ । त्यसै कुरालाई दृष्टिगत गरी भारतीय धौलीगंगा पावर स्टेशनले तत्काल बाँध नखोल्ने र खोल्नु अगावै अर्को सूचना जारी गर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए । दार्चुलाका उच्च हिमाली क्षेत्र टिंकर, छाङरु र खण्डेश्वरी क्षेत्रमा हिमपात समेत भइरहेको उनले बताए ।
शुक्रबारदेखि सुदूरपश्चिमका प्राय: सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । सबै जिल्लाबाट लामो दूरीका सवारी साधनहरू सञ्चालनमा शनिबार बिहानैदेखि सोमबार बिहान ७ बजेसम्मका लागि रोक लगाइएको छ ।
