दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित टिंकरमा यस वर्षको पहिलो हिमपात भएको छ। केही दिनदेखि लगातार भइरहेको भारी वर्षासँगै टिंकर क्षेत्रमा हिमपात भएपछि करिब तीन फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन्।
भारी हिमपातका कारण टिंकरवासीको जनजीवन प्रभावित भएको छ भने आवतजावतसमेत अत्यन्त कठिन बनेको छ। हिउँ बाक्लिँदै गएपछि दैनिक आवश्यक कामका लागि समेत बाहिर निस्कन समस्या भएको स्थानीयको भनाइ छ।
स्थानीय अनुरोध टिंकरीका अनुसार लगातारको वर्षा र हिमपातका कारण टिंकरमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। हिमपातका कारण विद्युत्का पोल तथा अन्य संरचनामा समेत क्षति पुगेको उनले बताए।
‘अहिले टिंकरमा करिब तीन फिटसम्म हिउँ जमिसकेको छ। विद्युत्का पोल तथा संरचनामा क्षति पुगेकाले विद्युत् सेवा पूर्ण रूपमा बन्द भएको छ,’ उनले भने।
टिंकरमा अहिले बाली भित्र्याउने समयसँगै विभिन्न पूजा तथा धार्मिक पर्वसमेत चलिरहेको छ। त्यसकारण सामान्य समयको तुलनामा अहिले गाउँमा मानिसको उपस्थिति बढी रहेको टिंकरीले बताए।
तीन फिटसम्म हिउँ जम्नुका साथै विद्युत् सेवा अवरुद्ध भएपछि टिंकरवासीको दैनिक जनजीवन थप प्रभावित बनेको छ। लगातार हिमपात भइरहेकाले अवस्था थप कठिन बन्न सक्ने स्थानीयले बताएका छन्।
