दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–९ सकारमा सकार टी–१० कप–२०८३ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
जनचेतनाशील युवा क्लब, सकारको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन हुन लागेको हो।
पहिलो संस्करणको सफलतापछि आयोजना गर्न लागिएको प्रतियोगिता सकार क्रिकेट ग्राउण्डमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन कार्तिक ६ गते बिहान १० बजे हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी टोलीले असोज २४ गतेदेखि कार्तिक ४ गतेसम्म टिम दर्ता गर्न सक्नेछन्। सहभागी टोलीका लागि प्रवेश शुल्क नगद ९ हजार रुपैयाँ तोकिएको छ। एउटै नामका दुई वा दुईभन्दा बढी टिम सहभागी भएमा प्रमुख टिमबाहेक अन्य टिमका लागि प्रवेश शुल्क ७ हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। उपविजेताले ३३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछ।
त्यस्तै, प्लेयर अफ द टुर्नामेन्टलाई ५ हजार ५५५ रुपैयाँ, उदीयमान खेलाडीलाई १ हजार ५५५ रुपैयाँ तथा फेयर प्ले अवार्डका लागि १ हजार ५५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। यी पुरस्कार रकम आयोजकको सूचनामा उल्लेख छन्।
क्लबका अनुसार क्रिकेट खेलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा खेलाडीबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आयोजक जनचेतनाशील युवा क्लबले प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण क्रिकेट टिम तथा खेलाडीलाई सहभागिताका लागि आग्रह गरेको छ।

