दार्चुला । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुलामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका सिल्ट सफाइका लागि ४८ घण्टा खोलिने भएको छ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै २०८३ असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म बाँध खोलिने जानकारी दिएको छ। जिल्ला प्रशासनको वेबसाइटमा पनि धौलीगंगा बाँध खोल्ने सम्बन्धी सूचना प्रकाशित भएको छ।
एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट प्राप्त पत्रका आधारमा बाँधको ढोका खोल्न लागिएको प्रशासनले जनाएको छ।
बाँध खोलिएको अवधिमा तथा त्यसपछि महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ। नदी आसपास अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमबाट जोगिन प्रशासनले अनुरोध गरेको हो।
यसअघि पनि धौलीगंगा बाँधको सिल्ट सफाइका लागि ढोका खोल्ने कार्यक्रमबारे दार्चुला प्रशासनले सूचना जारी गरेको थियो।

