महाकाली कोरिडोरको २८८.५ किलोमिटर ट्र्याकमा गाडी गुड्न थाल्यो

दार्चुला । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको महाकाली कोरिडोरअन्तर्गत ट्र्याक खोलिएको २८८.५ किलोमिटर सडकमा गाडी गुड्न थालेका छन्।

बर्सातका बेला केही क्षेत्रमा पहिरो खस्ने समस्या भए पनि अधिकांश क्षेत्रमा सहज रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका इन्जिनियर तथा सूचना अधिकारी दिनेश रैखोलाले जानकारी दिनुभयो।

कञ्चनपुरको ब्रह्मदेवदेखि चीनसँगको सीमा नाका तिङ्कर भञ्ज्याङसम्म महाकाली कोरिडोरको कुल लम्बाइ ४१३ किलोमिटर रहेको छ। निर्माण सुरु भएको १८ वर्षको अवधिमा सरकारले आयोजनामा करिब चार अर्ब रुपैयाँ खर्च गरेको छ भने २८८.५ किलोमिटर सडकको ट्र्याक खोलिएको रैखोलाले बताउनुभयो।

कोरिडोरअन्तर्गत डडेलधुरा क्षेत्रमा हालसम्म पाँच किलोमिटर सडक कालोपत्रे भएको छ। कुल ४१३ किलोमिटरमध्ये ३३४ किलोमिटर सडक महाकाली कोरिडोर सडक निर्माण योजनाले निर्माण गरिरहेको छ भने दार्चुलाको ७९ किलोमिटर सडक निर्माणको जिम्मेवारी विगत छ वर्षदेखि नेपाली सेनाले लिएको छ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार कोरिडोर निर्माणका लागि कुल १८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। त्यसमध्ये हालसम्म करिब चार अर्ब रुपैयाँ खर्च भएको र बाँकी निर्माणका लागि १४ अर्ब रुपैयाँ आवश्यक रहेको रैखोलाले जानकारी दिनुभयो।

कोरिडोरअन्तर्गत डडेलधुरामा ५८ किलोमिटर, बैतडीमा १४४ किलोमिटर र दार्चुलामा १२१ किलोमिटर सडक रहेको छ। अझै ४५.५ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको छ। चालु आर्थिक वर्ष २०८३/८४ मा थप १५ किलोमिटर नयाँ ट्र्याक खोल्ने योजना रहेको छ।

कञ्चनपुरको ब्रह्मदेव, डडेलधुराको जोगबुढा, बैतडीको पञ्चेश्वर तथा चमेलिया हुँदै दार्चुलाको लाली, उकु, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा तुसारपानीसम्मको ३३४ किलोमिटर सडक निर्माण भइरहेको छ। यससँगै नेपाली सेनाले निर्माण गरिरहेको ७९ किलोमिटर सडकसमेत पूरा भएपछि महाकाली कोरिडोर सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार बन्ने विश्वास गरिएको छ।

चालु आर्थिक वर्षमा कोरिडोरको थप निर्माणका लागि सरकारले ३९ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। नेपाली सेनाले निर्माण गरिरहेको ७९ किलोमिटरमध्ये आर्थिक वर्ष २०८१/८२ सम्म २० किलोमिटर सडकको ट्र्याक खोलिएको छ भने १२ किलोमिटर सडक दुम्लिङगाउँसम्म गाडी गुड्न सक्ने अवस्थामा पुर्‍याइएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.