दार्चुला । नेपाली काँग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशन बिहीबारदेखि धनगढीमा सुरू भएको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको उद्धघाटन गरेका हुन्। काँग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजन नृप सुनारले हिजो अधिवेशनको उद्धघाटन भएको र आज मनोनयन दर्ता हुने जानकारी दिनुभयो।
आज बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता, ११ बजेदेखि १ बजेसम्म दाबीविरोध र साढे ६ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको सुनारले बताउनुभयो। उहाँका अनुसार शनिबार (भोलि) बिहान ८ वजेदेखि भने ५९ सदस्यीय प्रदेश कार्यसमिति चयनका लागि मतदान सुरु हुनेछ। पूर्वसंघीय राज्यमन्त्री, सुदूरपश्चिम प्रदेश सभा सदस्य, जिल्ला सभापतिहरु, युवा तथा विद्यार्थी नेताहरुले प्रदेश सभापतिमा इच्छा देखाएका छन्।
कैलाली जिल्ला सभापति नरनारायण शाह, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा डोटीबाट विजयी महाधिवेशन प्रतिनिधि पुष्प शाही, पूर्व परराष्ट्र राज्यमन्त्री तथा बझाङका काँग्रेस नेता अर्जुनजंगबहादुर सिँह, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका काँग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले प्रदेश सभापतिमा दाबेदारी पेश गरेका छन। सभापतिका दाबेदार सबै देउवा पक्षका हुन्। सबै देउवा पक्षका उम्मेदवार देखिएपछि सहमतिमा सभापति चयनको कसरत पनि हुन थालेको छ।
पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बीरबहादुर बलायरलाई प्रदेश सभापति र कैलालीका नरनारायण शाहलाई महामन्त्रीमा सर्वसम्मत गर्ने कसरत भइरहेको छ। त्यसका लागि सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि संयोजकको जिम्मेवारी पाएका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य रमेश लेखक, एनपी साउद लगायतका नेताबीच छलफल भइरहेको छ।