दार्चुला । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले आयुर्वेदिक औषधिको बिक्री–वितरण गर्दा प्रचलित कानुनी व्यवस्था र स्वीकृत मापदण्ड पूर्ण रूपमा पालना गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ।
आयुर्वेद स्वास्थ्य केन्द्रले शुक्रबार एक विज्ञप्ति जारी गर्दै औषधिको गुणस्तर कायम राख्न, जनस्वास्थ्यको संरक्षण गर्न तथा औषधिको सुरक्षित र प्रभावकारी प्रयोग सुनिश्चित गर्न दर्ता नभएका आयुर्वेदिक औषधिको बिक्री–वितरण नगर्न अनुरोध गरेको हो ।
औषधि ऐन, २०३५ को दफा ८ बमोजिम नेपालमा बिक्री–वितरण गरिने औषधि औषधि व्यवस्था विभागमा दर्ता भएको हुनुपर्ने व्यवस्था रहेको छ। त्यस्तै, ऐनको दफा १० अनुसार औषधि बिक्री–वितरण गर्ने व्यक्ति वा संस्थाले तोकिएबमोजिम अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।

पछिल्लो समय बजारमा दर्ता नभएका आयुर्वेदिक औषधिको बिक्री–वितरण भइरहेको भन्ने गुनासो प्राप्त भएकाले सम्बन्धित सबैलाई प्रचलित कानूनी व्यवस्था र स्वीकृत मापदण्डको पूर्ण पालना गर्न भनिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र का कार्यालय प्रमुख तथा आयुर्वेद चिकित्सक डा. सुमन सत्यालले बताए ।
उनका अनुसार औषधिको गुणस्तर र जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले कानुनी मापदण्डको पालना गरी सुरक्षित औषधि बिक्री–वितरण गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
