दार्चुला । दार्चुलाको न्वालपानीस्थित दमौरामा आगामी कात्तिक १७ गतेदेखि ‘दमौरा क्रिकेट कप–२०८३’ आयोजना हुने भएको छ।
न्वालपानी–दमौरा पर्यटन विकास तथा युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्देश्य स्थानीय युवामा खेलकुदको विकास गर्ने, प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने, आपसी भाइचारा कायम गर्ने तथा दमौरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने रहेको आयोजक क्लबका सदस्य अशोक सिंह विष्टले बताए ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले ३ हजार ९९९ रुपैयाँ टिम दर्ता शुल्क बुझाउनुपर्नेछ। प्रतियोगिताको विजेता टोलीले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले ९ हजार ९९९ रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ।
त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्लेयर अफ द म्याच, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरको पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
‘समाजका लागि सोचौँ, भविष्यका लागि जुटौँ’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा सक्रिय बनाउनुका साथै दमौरा क्षेत्रको पहिचान स्थापित गर्न र पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
आयोजक न्वालपानी–दमौरा पर्यटन विकास तथा युवा क्लबले प्रतियोगितामा सहभागी हुन स्थानीय तथा अन्य इच्छुक क्रिकेट टोली, खेलाडी र खेलप्रेमीलाई आह्वान गरेको छ।
