काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। जसलाई ‘अपि एडिसन’ नाम दिइएको छ।
सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ। जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बंगाल टाइगरको आकृति समावेश छ।
सुदूरपश्चिमले ‘अपि एडिसन’ मार्फत अपि हिमालको पर्यटन प्रवद्र्धन र यस क्षेत्रको प्राकृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेको जनाएको छ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जर्सीमार्फत सुदूरपश्चिमको प्राकृतिक सम्पदा र पर्यटनलाई क्रिकेटसँग जोड्ने प्रयास गरिएको बताए ।
“अपि हिमाल सुदूरपश्चिमको प्राकृतिक पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण गन्तव्य हो । हामीले यस जर्सीलाई ‘एपी एडिसन’ नाम दिएर अपि हिमालप्रति सम्मान व्यक्त गर्नुका साथै यसको पर्यटन प्रवद्र्धनमा योगदान गर्ने उद्देश्य राखेका छौँ,” खड्काले भने ।
उनले क्रिकेटको माध्यमबाट सुदूरपश्चिमका महत्वपूर्ण गन्तव्यलाई देश तथा विदेशमा चिनाउन सकिने बताए ।
