दार्चुला । ७१औँ नेपाल प्रहरी दिवसको अवसरमा दार्चुलामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजना तथा जिल्ला अस्पताल दार्चुलाको प्राविधिक सहयोगमा सोमबार रक्तदान कार्यक्रम गरिएको हो।
दार्चुलामा रगतको अभाव हुन नदिन तथा आवश्यक परेको समयमा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कार्यक्रममा चार जना प्रहरी कर्मचारीले रक्तदान गरेका छन्।
प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बुढाथोकीका अनुसार यस वर्ष ‘नेपाल प्रहरी विपद्को सारथी, संकटमा छहारी; प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ नेपाल प्रहरी दिवस मनाइएको छ।
रगतको अभावका कारण बिरामीले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले रक्तदान गरेको बुढाथोकीले बताए।
रक्तदान कार्यक्रमले मानवीय सेवामा योगदान पुर्याउनुका साथै रक्तदानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
