दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले आगामी कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने ‘अपिहिमाल पर्यटन उत्सव’ सञ्चालन गर्ने भएको छ ।
पर्यटन गतिविधि बढाउँदै स्थानीय बासिन्दाका लागि रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको उद्देश्य पूरा गर्ने गरी उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सव अपिहिमाल गाउँपालिका–१ स्थित अपिहिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना गरिनेछ । उत्सवसँग सम्बन्धित अन्य गतिविधि गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत सञ्चालन गरिने जनाइएको छ । एकीकृत पर्यटन उत्सव भएकाले यसबाट गाउँपालिकाका सबै क्षेत्र लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नेपाल सरकार र अपिहिमाल गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनामार्फत अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन हुँदै आएको छ । अपिहिमाल बेसक्याम्पको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय गतिविधि विस्तारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा गाउँपालिका उपाध्यक्ष, सबै वडाका वडाध्यक्षलगायत सदस्य रहने तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ ।
