सर्मनाक हार व्यहोर्दै उपाधि गुमाएको सुदूरपश्चिम लुम्बिनीसँग बदला लिने दाउमा

काठमाडौं । लगातार दोस्रोपटक पनि फाइलनमा पुग्दा अघिल्लो सिजनमा सुदूरपश्चिम रोयल्सलाई उपाधिको दाबेदार मान्ने प्रशस्तै थिए ।

पहिलो सिजनमा उपाधि जित्ने गरी १ सय ८५ रनको विशाल लक्ष्य सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई दिएको थियो । तर, जनकपुरले चार बल बाँकी छँदै पहिलो एनपीएलको उपाधि ५ विकेटले हात पार्‍यो ।

सबैभन्दा बढी समर्थक प्राप्त भएको सुदूरपश्चिम पहिलोपटक राम्रो ब्याटिङ गर्दागर्दै उपाधिविमुख हुन पुगेको थियो । त्यसैले दोस्रोपटक फेरि गज्जब खेल्दै फाइनलमा पुग्दा सुदूरपश्चिमले अघिल्लो सिजनमा उपाधि जित्ने धेरैको अनुमान थियो । किनकि लुम्बिनीले उपाधिका लागि सुरुबाटै उत्कृष्ट खेल खेलेको थिएन ।

सुरुवातमा कमजोर देखिँदै उनीहरूले फाइनलको यात्रा तय गरेका थिए । त्यसैले लुम्बिनीलाई होइन, उपाधि सुदूरपश्चिमकै हो भन्ने भाष्य धेरैले बनाएका थिए । तर, छोटो फम्र्याटको एनपीएल उपाधिको गत वर्षको प्रतिस्पर्धा फेरि सुदूरपश्चिमका लागि स्मरणीय बन्न सकेन ।

पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले जम्मा ८६ रन मात्रै जोड्न सक्यो । पहिलो फाइनलको भन्दा एक सय रन कम बनाएपछि लुम्बिनीलाई उपाधि रक्षा गर्न ९ ओभर नै काफी भयो । चार विकेट गुमाएर त्यही औसत मानिएको लुम्बिनीले फेरि सुदूरपश्चिमलाई ६ विकेटले स्तब्ध पारिदियो ।

संयोगले अघिल्लोपटक फाइनल गुमाएको सुदूरपश्चिमले एनपीएलको तेस्रो सिजनमा पहिलो खेल केही बेरमा लुम्बिनीसँगै खेल्दै छ, जहाँ सुदूरपश्चिमलाई पहिलो खेलबाटै अघिल्लोपटक उपाधि गुमाएको बदला लिने अवसर हुनेछ । सँगै उपाधिका लागि पहिलो खेल जितेर सुखद सुरुवात गर्ने अवसर पनि उसका लागि छ ।

नेपाली राष्ट्रिय टिममा सँगै खेलेका रोहित पौडेलको कप्तानीमा लुम्बिनी र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम रोयल्स मैदानमा उत्रिँदै छन् । अरु टिमले खेलाडी खरिदमा हल्लाखल्ला गर्दा यसपटक फेरि लुम्बिनी तुलनात्मक रूपमा शान्त देखिएको छ । उसले स्टार नाम चलेका खेलाडीभन्दा आफ्नै पुरानो टिमलाई प्राथमिकता दिएको छ ।

यसपटक रोहितसँगै लुम्बिनीमा आशिफ शेख पनि छन् । शेर मल्ल, सन्दीप जोराजस्ता प्रभाव पार्न सक्ने खेलाडी लुम्बिनीसँग छन् । टी –२० मा यी खेलाडीले राम्रो गरिरहेका छन् । किशोर महतो, दिलीप नाथजस्ता खेलाडी लुम्बिनीसँग छन् । विदेशी खेलाडीमा ओपनर डार्सी सर्ट, रुवेल ट्रम्पलम्यान, सामिम हुसेन, निरोशन डिकवेला छन् ।

सुदूरपश्चिमसँग पहिलेजस्तै यसपटक पनि चर्चित खेलाडीको कमी छैन । अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँगै आरिफ शेख, इशान पाण्डे, विनोद भण्डारी, अभिनाश बोहोरा, हेमन्त धामी, अनिल खरेलसहितका खेलाडी छन् ।

लगातार दुईवटा उपाधि गुमाएर भोकाएको सुदूरपश्चिम यसपटक पनि उपाधिका लागि अग्रसर छ । उपाधि उचाल्नकै लागि सुदूरपश्चिमले वेस्ट इन्डिजबाट शेरफेन रदरफोर्ड र फेबियन एलेनलाई भित्र्याएको छ । त्यस्तै, पुराना स्कट कुग्गेलाइन, सैफ जाइब, ब्रान्डन म्याकमुलेन जस्ता प्रभाव पार्न सक्ने खेलाडी पनि छन् ।
तेस्रो सिजनमा यसपट फ्लडलाइट भित्रिएको छ । डीआरस प्रविधि पनि यसैपटकदेखि लागू गरिएको छ । साथै, आईसीसीले पनि मान्यता दिएपछि एनपीएलका हरेक खेलले अन्तर्राष्ट्रिय मान्यता पनि पाउनेछन् । आठवटा क्लबमा यसपटक अधिकांशले नाम चलेका विश्वस्तरका खेलाडीलाई टिममा भित्र्याएका छन् । विश्वचर्चित आईपीएल, बीगब्यास, पीसीएलसहितका फ्रेन्चाइज लिग खेलेका खेलाडीले यसपटक कीर्तिपुर मैदानमा खेल्दै छन् ।

अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर, श्रीलंकाका एन्जेलो म्याथुजजस्ता खेलाडीले यसपटक नेपालको लिग खेल्दै छन् । जसले अन्तर्राट्रिय स्तरमा एनपीएलको चर्चा बढाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.